काठमाडौं । काठमाडौं केन्द्रित हुन आग्रह गरिएसँगै पूर्व जनमुक्ति सेनाका साथीहरूले संयोजक प्रचण्डसँग भेटघाट तथा छलफल गरेका छन्। भेटका क्रममा पूर्व जनमुक्ति सेनाका साथीहरूले विगतदेखिका आफ्ना गुनासा, पीडा, असन्तुष्टि तथा अपेक्षाहरू खुलेर राखेका थिए।
छलफलमा प्रचण्डले उनीहरूका कुरा गम्भीरतापूर्वक सुन्दै आगामी दिनमा कसरी अघि बढ्ने र पूर्व जनमुक्ति सेनाका विभिन्न सवाललाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा धारणा बुझ्नुभएको थियो।
भेटघाटका क्रममा पूर्व जनमुक्ति सेनाका साथीहरूलाई पुनः संगठित र सक्रिय बनाउँदै राजनीतिक तथा सामाजिक अभियानमा जोड्नुपर्ने आवश्यकताबारे पनि छलफल भएको छ। विगतमा कठिन मोर्चाहरूमा सँगै उभिएका सहयात्रीहरूको अनुभव, योगदान र भावनालाई सम्मान गर्दै आगामी यात्रालाई थप व्यवस्थित र सामूहिक बनाउने विषयमा भेट केन्द्रित रहेको बताइएको छ।
पूर्व जनमुक्ति सेनाका साथीहरूले आफ्ना समस्या र अपेक्षा राख्ने अवसर पाएको यस भेटघाटलाई आपसी संवाद, सहकार्य र संगठनात्मक सक्रियता बढाउने प्रयासका रूपमा लिइएको छ।





