काठमाडौं — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सरकारी कार्यशैली र परम्परागत सोचमा सुधार गर्ने बताएका छन्। लगानीमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रले उठाउँदै आएका समस्या समाधान गर्न सरकारले ९० दिने कार्ययोजना ल्याउने तयारी गरिरहेको उनले जानकारी दिएका छन्।
यूके–नेपाल व्यापार मञ्च २०२६ लाई सम्बोधन गर्दै मन्त्री साहले प्राकृतिक स्रोत र बजारको सम्भावना मात्रले वैदेशिक लगानी आकर्षित गर्न नसकिने उल्लेख गरे। त्यसका लागि नीतिगत स्थिरता, पारदर्शिता, सरकारी निर्णय प्रक्रियामा छिटोपना र लगानीकर्ताको विश्वास आवश्यक रहेको उनको भनाइ थियो।
मन्त्री साहका अनुसार प्रस्तावित ९० दिने कार्ययोजनाको पहिलो ३० दिनमा बेलायती तथा नेपाली व्यवसायीका प्रमुख समस्या, लगानी प्रस्ताव र नीतिगत तथा नियामकीय अवरोध पहिचान गरिनेछ। त्यसपछिको ६० दिनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, सम्बन्धित सरकारी निकाय र निजी क्षेत्रबीच समन्वय गरी समाधानका उपाय अघि बढाइनेछ।
कार्ययोजनामा सुधारका प्राथमिकता, जिम्मेवार निकाय, कार्यान्वयनको समयसीमा र प्रगति मापन गर्ने सूचकसमेत समावेश गरिने उनले बताए। सरकारको सफलता बैठक र छलफलको संख्याभन्दा व्यवसायीका समस्या समाधान, लगानी सहजीकरण र रोजगारी सिर्जनाका आधारमा मापन हुनुपर्नेमा जोड दिँदै मन्त्री साहले लगानीका अवरोध हटाउन सरकार प्रतिबद्ध रहेको बताए।
उनले नेपाल र बेलायतबीचको ऐतिहासिक मित्रतालाई आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने आवश्यकता पनि औँल्याए। नेपालमा जलविद्युत्, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, हरित प्रविधि, उत्पादनमूलक उद्योग, दिगो पूर्वाधार तथा सेवा क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरे।
त्यसैगरी नेपाली पश्मिना, गलैँचा, फेल्टजन्य सामग्री, तयारी पोसाक, हस्तकला, परम्परागत वाद्यवादन तथा जडीबुटीजन्य उत्पादनले बेलायती बजारमा थप अवसर प्राप्त गर्न सक्ने उनको भनाइ थियो।
नेपालमा लगानीको सम्भावना हुँदाहुँदै पनि नीतिगत अनिश्चितता र प्रशासनिक जटिलताका कारण अपेक्षित लगानी भित्र्याउन चुनौती रहेको मन्त्रीले स्वीकार गरे। व्यवसायीले उठाउँदै आएका दोहोरो कराधान, कर नीतिको स्थिरता, मुनाफा फिर्ता लैजाने प्रक्रिया, बौद्धिक सम्पत्तिको संरक्षण र निर्यात सहजीकरणजस्ता विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै पारदर्शी, स्थिर र विश्वासयोग्य व्यावसायिक वातावरण निर्माण गर्ने लक्ष्य राखेको मन्त्री साहले बताए।





