१० मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले जनकपुरधामस्थित रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा विद्यार्थीको शुल्क हिनामिना प्रकरणमा संलग्न दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।
क्याम्पसमा विद्यार्थीको शुल्कबाट २० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको समाचार सार्वजनिक भएपछि उपकुलपति थापाले उक्त प्रकरणको छानबिन प्रतिवेदन अध्ययन भइरहेको जानकारी दिएका हुन्।
‘छानबिन समितिले प्रतिवेदन बुझाएको छ। उक्त प्रतिवेदन अध्ययन गरिरहेका छौँ,’ उपकुलपति थापाले भने, ‘प्रतिवेदनअनुसार दोषीलाई त्रिवि र प्रचलित कानुनअनुसार कारबाही गर्छौं।’
उनले विश्वविद्यालयमा सुशासन कायम गर्ने उद्देश्यसहित आर्थिक अनियमितता तथा अन्य बेथितिका विषयमा छानबिन अघि बढाइएको बताए। राराब क्याम्पसमा मात्र नभई विश्वविद्यालयका अन्य निकायमा पनि शुल्क हिनामिना तथा आर्थिक अनियमितताबारे खोजी भइरहेको उनको भनाइ छ।
‘राराबमा मात्र होइन, अन्य ठाउँमा पनि खोजी गरिरहेका छौँ। हाम्रो एजेन्डा नै त्रिविमा सुशासन कायम गर्ने हो। बेथितिका फाइल खोल्न सुरु भएको छ,’ उपकुलपति थापाले भने।
छानबिन प्रतिवेदनमा कारबाही र रकम फिर्ताको सिफारिस
राराब क्याम्पसमा विद्यार्थीको शुल्कमा अनियमितता भएको विषयमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयले छानबिन गरेको थियो। छानबिन समितिले ठूलो आर्थिक घोटाला भएको निष्कर्षसहित प्रतिवेदन तयार पारेको जनाइएको छ।
प्रतिवेदनमा अनियमिततामा संलग्न दोषीलाई कारबाही गर्न तथा हिनामिना भएको रकम फिर्ता गराउन सिफारिस गरिएको छ। त्रिविको नियमअनुसार आर्थिक अनियमिततामा संलग्न कर्मचारीलाई बर्खास्त गर्नेसम्मको कारबाही गर्न सकिने व्यवस्था रहेको छ।
उपकुलपति थापाले प्रतिवेदनको अध्ययनपछि दोषीमाथि विश्वविद्यालयको नियम र प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने स्पष्ट पारेका छन्।
प्रमाण नष्ट गरिएको आरोप
विद्यार्थीको शुल्कमा भएको भनिएको घोटाला लुकाउन क्याम्पसका कर्मचारी सञ्जय दासको नेतृत्वमा रहेको टोलीले २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा लेखा शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरी महत्वपूर्ण प्रमाण नष्ट गरेको आरोपसमेत सार्वजनिक भएको छ।
यस घटनाले शुल्क हिनामिना प्रकरणको छानबिनलाई थप गम्भीर बनाएको छ। विश्वविद्यालय प्रशासनले प्रतिवेदनका आधारमा दोषी पहिचान गरी कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ। त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीको शुल्कसँग जोडिएको यो प्रकरण हालसम्मकै ठूलो आर्थिक अनियमिततामध्ये एक भएको दाबी गरिएको छ। यस घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र हिनामिना भएको रकम असुलीले विश्वविद्यालयमा आर्थिक पारदर्शिता तथा सुशासन कायम गर्ने विषयलाई थप महत्वपूर्ण बनाएको छ।





