पोखरा, १२ मंसिर। पोखरामा शनिबार तेस्रो दाइँ महोत्सवको रौनक छाएको छ। पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा पोखरा–२९, नौबिसे सिसुवामा महोत्सव आयोजना गरिएको हो।
कृषि र पर्यटनलाई जोड्दै लोप हुँदै गएको परम्परागत कृषि प्रणाली तथा ग्रामीण संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ।
महोत्सवमा चार हल गोरुको प्रयोग गरी परम्परागत शैलीमा धान चुट्ने, धानको रास बनाउने र बत्याउने कार्य प्रदर्शन गरिएको छ। १७ जना दँदेराले गोरु धपाउने, पराल बाँध्ने तथा कुनियो लगाउनेलगायतका परम्परागत कृषि गतिविधिमा सहभागिता जनाएका छन्।
महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटक, स्थानीय किसान, विभिन्न विद्यालयका विद्यार्थी र सर्वसाधारणको सहभागिता रहेको छ। पराल र खेतको पाटामा बसेर खाजा तथा खाना खाने व्यवस्थाले सहभागीलाई ग्रामीण जीवनशैलीको अनुभव गराएको छ।
दाइँ महोत्सवमा दँदेरा लगाउने, गुन्द्री बुन्ने र लठ्ठो तान्ने प्रतियोगितासमेत सञ्चालन गरिएको छ। उत्कृष्ट प्रतियोगी तथा सबैभन्दा बढी धान उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ।
सहरीकरण र आधुनिक कृषि प्रविधिको विस्तारसँगै ओझेलमा पर्दै गएको गोरुले दाइँ गर्ने परम्परालाई नयाँ पुस्तासम्म पुर्याउनु महोत्सवको महत्वपूर्ण उद्देश्य हो। यसले पोखराको पर्यटनलाई ताल, हिमाल र साहसिक गतिविधिबाहेक कृषि तथा ग्रामीण पर्यटनसँग जोड्ने अपेक्षा गरिएको छ।





