पोखरा। पोखरा महानगरपालिका वडा नं. २४ को आयोजना तथा वडा शिक्षा समितिको समन्वयमा आयोजित अन्तरवडा स्तरीय गीत तथा नृत्य प्रतियोगिता–२०८३ भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिता वडा नं. २४ स्थित कालिका माध्यमिक विद्यालय, पहरेपानीको प्राङ्गणमा सञ्चालन गरिएको थियो।
वडा नं. २४ का वडाध्यक्ष तथा वडा शिक्षा समितिका अध्यक्ष भरतबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले ब्यानरमा हस्ताक्षर गरी प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा कार्यक्रमका अध्यक्ष अधिकारीले वडा शिक्षा समितिले प्रत्येक वर्ष आयोजना गर्दै आएको यस कार्यक्रमलाई समयअनुसार परिमार्जन गर्दै अघि बढाइएको बताउनुभयो। उहाँले यस वर्ष प्रतियोगितालाई विषयगत रूपमा सञ्चालन गरिएको जानकारी दिँदै विद्यालयका विद्यार्थीका लागि ‘समाज निर्माणमा विद्यार्थीको भूमिका’ र आमा समूहका लागि ‘बालबालिकाको सर्वाङ्गीण विकासमा अभिभावकको भूमिका’ विषय निर्धारण गरिएको बताउनुभयो।
निर्धारित विषयवस्तुमा आधारित रहेर सहभागीहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको स्वागत मन्तव्य राख्दै वडा सदस्य कृष्णप्रसाद सुवेदीले सहभागी विद्यालयका शिक्षक, विद्यार्थी तथा आमा समूहलाई जिम्मेवार, अनुशासित र मर्यादित रूपमा प्रस्तुत हुन आग्रह गर्नुभयो।
प्रतियोगितामा विद्यालयतर्फ पामे आधारभूत विद्यालय, बसन्त आधारभूत विद्यालय, कालिका माध्यमिक विद्यालय र सिद्ध बराहा आधारभूत विद्यालयलगायत विद्यालयहरूको सहभागिता रहेको थियो। त्यसैगरी आमा समूहतर्फ धुपीचौर कृषि आमा समूह, खोरियापानी आमा समूह, पहरेपानी आमा समूह, लौरुक आमा समूह, प्रगतिशील आमा समूह, जलजला आमा समूह, गुन्टेचौर आमा समूह, बाहुनपानी आमा समूह र मैदान आमा समूह गरी नौ समूहले प्रतिस्पर्धा गरेका थिए।
गीत तथा नृत्य प्रतियोगिताको मूल्याङ्कन समितिमा गिरिजा भट्टराई, लालकिशोर मण्डल र नवराज अधिकारी रहनुभएको थियो। मूल्याङ्कन समितिको निर्णयअनुसार विद्यालयतर्फ विश्वज्योति इङ्लिस बोर्डिङ स्कुल प्रथम, पामे आधारभूत विद्यालय द्वितीय र सिद्धबराह आधारभूत विद्यालय तृतीय भएका छन्।
प्रथम हुने विश्वज्योति इङ्लिस बोर्डिङ स्कुलले नगद ७ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ। द्वितीय हुने पामे आधारभूत विद्यालयले ५ हजार रुपैयाँ र तृतीय हुने सिद्धबराह आधारभूत विद्यालयले ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन्।
त्यस्तै, आमा समूहतर्फ बाहुनपानी आमा समूह प्रथम, प्रगतिशील आमा समूह द्वितीय र मैदान आमा समूह तृतीय भएका छन्। प्रथम हुने बाहुनपानी आमा समूहले १४ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्दा द्वितीय हुने प्रगतिशील आमा समूहले ७ हजार रुपैयाँ र तृतीय हुने मैदान आमा समूहले ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन्।
स्थानीय विद्यालयका विद्यार्थी तथा आमा समूहको सहभागितामा सम्पन्न प्रतियोगिताले विद्यार्थीको सिर्जनात्मक क्षमता, सामाजिक चेतना र प्रतिभा प्रस्फुटनमा सहयोग पुर्याएको आयोजकको अपेक्षा छ। साथै, बालबालिकाको सर्वाङ्गीण विकासमा अभिभावकको भूमिकालाई उजागर गर्दै स्थानीय कला, संस्कृति र प्रतिभाको संरक्षण तथा प्रवर्द्धनमा समेत कार्यक्रमले योगदान पुर्याउने विश्वास गरिएको छ।
वडा नं. २४ का वडा सचिव इन्द्रबहादुर जिसीले सञ्चालन गर्नुभएको कार्यक्रम उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको थियो।





