Community
८२ मिनेट

पोखरामा शनिबार दाइँ महोत्सवको रौनक, किसानसँगै रमाए विदेशी पर्यटक

पोखरा–२९, नौबिसे सिसुवामा तेस्रो दाइँ महोत्सव आयोजना, परम्परागत कृषि संस्कृति र ग्रामीण जीवनशैलीको प्रदर्शन।

हाम्रोबज सम्पादकीय ब्युरो
हाम्रोबज सम्पादकीय ब्युरोकेन्द्रीय सम्पादकीय टोली
शनिबार, १२ मंसिर २०८३ (वि.सं.) | ई.सं.: २०२६ नोभेम्बर २८
पोखराको दाइँ महोत्सवमा गोरुको सहायताले धान चुट्दै किसानहरू।
पोखराको दाइँ महोत्सवमा गोरुको सहायताले धान चुट्दै किसानहरू।
मुख्य निष्कर्षहरू (Key Takeaways)
  • चार हल गोरुको प्रयोग गरी परम्परागत शैलीमा धान चुट्ने, रास बनाउने तथा बत्याउने काम गरिएको छ।
  • महोत्सवमा विभिन्न देशका विदेशी पर्यटक, स्थानीय किसान, विद्यार्थी तथा सर्वसाधारण सहभागी भएका छन्।
  • लोप हुँदै गएको कृषि परम्पराको संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन र ग्रामीण पर्यटन विकास महोत्सवका मुख्य उद्देश्य हुन्।

पोखरा, १२ मंसिर। पोखरामा शनिबार तेस्रो दाइँ महोत्सवको रौनक छाएको छ। पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा पोखरा–२९, नौबिसे सिसुवामा महोत्सव आयोजना गरिएको हो।

कृषि र पर्यटनलाई जोड्दै लोप हुँदै गएको परम्परागत कृषि प्रणाली तथा ग्रामीण संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ।

महोत्सवमा चार हल गोरुको प्रयोग गरी परम्परागत शैलीमा धान चुट्ने, धानको रास बनाउने र बत्याउने कार्य प्रदर्शन गरिएको छ। १७ जना दँदेराले गोरु धपाउने, पराल बाँध्ने तथा कुनियो लगाउनेलगायतका परम्परागत कृषि गतिविधिमा सहभागिता जनाएका छन्।

महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटक, स्थानीय किसान, विभिन्न विद्यालयका विद्यार्थी र सर्वसाधारणको सहभागिता रहेको छ। पराल र खेतको पाटामा बसेर खाजा तथा खाना खाने व्यवस्थाले सहभागीलाई ग्रामीण जीवनशैलीको अनुभव गराएको छ।

दाइँ महोत्सवमा दँदेरा लगाउने, गुन्द्री बुन्ने र लठ्ठो तान्ने प्रतियोगितासमेत सञ्चालन गरिएको छ। उत्कृष्ट प्रतियोगी तथा सबैभन्दा बढी धान उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ।

सहरीकरण र आधुनिक कृषि प्रविधिको विस्तारसँगै ओझेलमा पर्दै गएको गोरुले दाइँ गर्ने परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउनु महोत्सवको महत्वपूर्ण उद्देश्य हो। यसले पोखराको पर्यटनलाई ताल, हिमाल र साहसिक गतिविधिबाहेक कृषि तथा ग्रामीण पर्यटनसँग जोड्ने अपेक्षा गरिएको छ।

लेखकको परिचय
हाम्रोबज सम्पादकीय ब्युरो

हाम्रोबज सम्पादकीय ब्युरो

केन्द्रीय सम्पादकीय टोली

हाम्रोबजको केन्द्रीय सम्पादकीय डेस्कद्वारा तथ्य जाँच तथा कडा पत्रकारिता मापदण्डअनुसार तयार पारिएको आधिकारिक रिपोर्ट।

यस लेखकका अन्य लेखहरू

Community बाट थप समाचार

सबै हेर्नुहोस्

पाठक प्रतिक्रिया

०
सम्पादकीय परीक्षणपछि प्रकाशित

आफ्नो विचार राख्नुहोस्

घृणास्पद र अमर्यादित अभिव्यक्ति निषेधित छ0 / 1000
प्रतिक्रियाहरू लोड हुँदै...