मुस्ताङ — नेपाल–चीन उत्तरी कोरला नाकामा पर्यटकको चहलपहल बढ्दै गएको छ। समुद्री सतहदेखि ४ हजार ६१० मिटरको उचाइमा अवस्थित कोरला नाका हिउँदेयामको अत्यधिक चिसोका बाबजुद पर्यटकको आकर्षणको केन्द्र बनेको छ।
हिउँदे मौसममा चिसो अत्यधिक हुने भए पनि दैनिक १०० भन्दा बढी पर्यटक जोमसोम–कोरला सडक मार्ग हुँदै नाका अवलोकन गर्न पुग्ने गरेका छन्।
उच्च हिमाली भूभागमा अवस्थित कोरला नाकाको प्राकृतिक वातावरण, भौगोलिक बनावट र नेपाल–चीन सीमाक्षेत्रको दृश्यावलोकनले पर्यटकलाई आकर्षित गर्ने गरेको छ।
हिउँदको कठ्यांग्रिँदो चिसोबीच पनि पर्यटकको निरन्तर आगमनले मुस्ताङको पर्यटन गतिविधिमा उत्साह थपेको छ।





