म्याग्दी, १२ मंसिर । कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाका खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्। परम्परागत खाद्यबालीको खेती छाडेर व्यावसायिक सुन्तलाखेतीमा लागेका किसानको आम्दानी र जीवनशैलीमा उल्लेखनीय परिवर्तन आएको छ।
सुर्केमेलाकी ६५ वर्षीया बालकुमारी रोकाले १४ वर्षअघि सात मुरी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्नुभएको थियो। जनशक्ति अभावका कारण विसं २०६९ मा खाद्यबालीको विकल्पमा सुन्तलाखेती सुरु गर्नुभएकी रोकाको बगैँचामा अहिले २५० बोट छन्। ती बोटबाट उहाँले वार्षिक करिब सात लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ।
खाद्यबालीको तुलनामा सुन्तलाखेतीबाट कम मेहनतमा राम्रो आम्दानी हुने उहाँको अनुभव छ। “सात मुरी धान फल्ने खेतमा लगाएको सुन्तलाले अहिले वर्षमा सात लाख रुपैयाँ आम्दानी दिन थालेको छ,” उहाँले भन्नुभयो, “छोराछोरी विदेश गए पनि मलाई सुन्तलाखेतीमै रमाइलो लागेको छ।”
सुर्केमेलाकै द्रोपती थापाले पनि सुन्तलाखेतीबाट आम्दानी बढाउँदै जानुभएको छ। गत वर्ष एक लाख ५० हजार रुपैयाँको सुन्तला बिक्री गर्नुभएकी उहाँले यस वर्ष तीन लाख रुपैयाँ बराबरको सुन्तला बिक्री हुने अनुमान गर्नुभएको छ। फल दिने बोटको संख्या बढेको र उत्पादन राम्रो भएकाले आम्दानी बढ्ने उहाँको अपेक्षा छ।
सुर्केमेलामा व्यावसायिक सुन्तलाखेती विस्तार गर्ने पहिलो किसान ४६ वर्षीय डिलबहादुर केसी हुनुहुन्छ। उहाँले १५ वर्षअघि अंशमा पाएको धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्नुभएको थियो। त्यसबेला आफन्त र छिमेकीले धान फल्ने खेतमा सुन्तला रोपेको भन्दै उहाँको निर्णयको विरोध गरेका थिए।
“धान फल्ने खेतमा काँडा रोपेर छोराछोरी भोकै पार्ने भयौ भनेर गाली गरेका थिए,” उहाँले विगत सम्झँदै भन्नुभयो, “अहिले सुन्तला बेचेर आम्दानी गरेको देख्दा त्यतिबेला गाली गर्नेहरू नै दङ्ग परेका छन्।”
२० रोपनी खेतबारीमा ४५० बोट सुन्तला लगाउनुभएका केसीले यस वर्ष १५ लाख रुपैयाँभन्दा बढीको सुन्तला बिक्री गर्नुभएको छ। पाँच वर्ष संयुक्त अरब इमिरेट्स र मलेसियामा काम गरेर फर्कनुभएका उहाँले सुन्तलाखेतीसँगै केसी मौरीपालन स्रोत केन्द्र पनि सञ्चालन गर्नुभएको छ।
केसीका अनुसार सुर्केमेलामा १६ जना किसानले व्यावसायिक सुन्तलाखेती गरिरहेका छन्। चार सय बोट सुन्तला लगाउनुभएका धनराज पुनले पनि परम्परागत अन्नबालीको तुलनामा सुन्तलाबाट धेरै गुणा बढी आम्दानी हुने बताउनुभएको छ। वर्षमा आठदेखि १० मुरी धान फल्ने खेतमा सुन्तलाखेती गर्दा वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने उहाँको भनाइ छ।
सुन्तलाखेतीबाट भएको आम्दानीले कतिपय किसानले पोखरा, बेनी र बागलुङमा घरघडेरी जोड्न सफल भएका छन्। किसानले आफ्ना छोराछोरीलाई राम्रा विद्यालय र कलेजमा पढाएका छन्। यसले सुर्केमेलामा सुन्तलाखेती केवल कृषि व्यवसाय मात्र नभई स्थानीयको आर्थिक तथा सामाजिक जीवन परिवर्तन गर्ने माध्यम बनेको देखाएको छ।
सिँचाइ सुविधा, उपयुक्त भूगोल र हावापानीका कारण सुर्केमेला सुन्तलाखेतीका लागि अनुकूल क्षेत्र मानिन्छ। यहाँ उत्पादन हुने रसिलो र स्वादिलो सुन्तला काठमाडौँ, पोखरा र बेनीका व्यापारीले बगैँचाबाटै खरिद गरेर लैजाने गरेका छन्।
म्याग्दीमा सबैभन्दा पहिले सुन्तला टिप्ने क्षेत्रमध्ये सुर्केमेला पनि हो। छिटो पाक्ने, आकर्षक रङ र स्वादका कारण यहाँका बगैँचा मंसिरको दोस्रो साताभित्रै रित्तिने गरेका छन्। सडक यातायातको सुविधा र बजारको सहज पहुँचले किसानलाई थप क्षेत्रफलमा सुन्तलाखेती विस्तार गर्न उत्साहित बनाएको छ।
सुन्तलाखेती विस्तारमा कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाले पनि सहयोग गर्दै आएका छन्। बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्का (भगवान)का अनुसार किसानलाई अनुदानमा बिरुवा वितरण, प्राविधिक तालिम र कृषि औजार उपलब्ध गराइएको छ। बालमखोला सिँचाइ योजना निर्माण भएपछि सिँचाइ सुविधा पनि सहज भएको छ।
“सुर्केमेलासहित बास्कुना र थामडाँडामा पनि व्यावसायिक सुन्तलाखेती विस्तार भएको छ,” उहाँले भन्नुभयो, “उत्पादन भएको सुन्तला बजारमा पुर्याउन र स्थानीयको आवतजावत सहज बनाउन सडक स्तरोन्नति गर्न लागिएको हो।”
दुःखेखोलादेखि सुर्केमेला, बास्कुना र थामडाँडा हुँदै मरेक जोड्ने सडक स्तरोन्नति योजना यसै वर्षदेखि सुरु हुँदैछ। गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको लागत साझेदारीमा तीन वर्षसम्म सञ्चालन हुने योजनाका लागि चालु आर्थिक वर्षमा एक करोड ६० लाख रुपैयाँ विनियोजन भएको छ। तीन वर्षमा पाँच करोड रुपैयाँ खर्च हुने गरी स्रोत सुनिश्चित गरिएको उक्त योजनाको ठेक्का सम्झौता प्रक्रिया अघि बढेको वडाध्यक्ष खड्काले बताउनुभयो।
त्यस्तै, सुर्केमेला र सिंगा जोड्ने सडक पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी संघीय सरकारमा प्रस्ताव पेस गरिएको छ।
परम्परागत अन्नबालीबाट अपेक्षित आम्दानी नहुँदा विकल्प खोजेका सुर्केमेलाका किसानका लागि सुन्तलाखेती अहिले आयआर्जनको भरपर्दो माध्यम बनेको छ। बाँझिने अवस्थामा पुगेका खेतबारीमा सुन्तलाका बोट हुर्किएका छन्। किसानको मेहनत र स्थानीय सरकारको सहयोगले सुर्केमेलाको कृषि पहिचानसमेत बदलिँदै गएको छ।
यद्यपि, युवाहरूको वैदेशिक रोजगारीप्रतिको आकर्षण बढ्दै जाँदा कृषि मजदुरको अभाव सुन्तलाखेती गर्ने किसानका लागि चुनौती बनेको छ।





