लुम्बिनी । लुम्बिनी विकास कोषले लुम्बिनी गुरुयोजना क्षेत्रभित्रका प्रतिबन्धित स्थानमा सञ्चालन भइरहेका अनधिकृत पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ।
कोषको निर्देशन पवित्र उद्यान, शान्ति दीप क्षेत्र तथा अन्तर्राष्ट्रिय गुम्बा क्षेत्रमा लागू हुनेछ। ती क्षेत्रमा कोषको पूर्वस्वीकृतिबिना व्यावसायिक गतिविधि सञ्चालन गर्न निषेध गरिएको छ।
शुक्रबार जारी सार्वजनिक सूचनामार्फत कोषले सम्बन्धित पसल सञ्चालकलाई तोकिएको समयभित्र उक्त क्षेत्र खाली गर्न निर्देशन दिएको हो।
निर्धारित समयभित्र पसल नहटाएमा कानुनी कारबाही अघि बढाइने कोषले चेतावनी दिएको छ।
लुम्बिनीको पवित्रता, अनुशासन र गुरुयोजनाअनुसारको विकासलाई कायम राख्ने उद्देश्यले कोषले यस्तो कदम चालेको जनाएको छ।





