International ताजा अपडेट
३५ मिनेट

नेपाल–युरोप आर्थिक साझेदारीका लागि लक्जेम्बर्गमा अन्तर्राष्ट्रिय सम्मेलन

व्यापार, प्रविधि, लगानी र पर्यटनमा सहकार्य विस्तार गर्ने लक्ष्यसहित नोभेम्बर २९ र ३० मा ‘नेपाल–युरोप टेक, ट्रेड एन्ड इन्भेस्टमेन्ट सेमिनार २०२६’ आयोजना हुँदै।

विशाल पौडेल
विशाल पौडेलपूर्वाधार तथा स्थलगत खोज संवाददाता
शुक्रबार, ११ मंसिर २०८३ (वि.सं.) | ई.सं.: २०२६ नोभेम्बर २७
व्यापार, प्रविधि, लगानी र पर्यटन साझेदारी विस्तारका लागि लक्जेम्बर्गमा नेपाल–युरोप सम्मेलन हुँदै।
व्यापार, प्रविधि, लगानी र पर्यटन साझेदारी विस्तारका लागि लक्जेम्बर्गमा नेपाल–युरोप सम्मेलन हुँदै।
मुख्य निष्कर्षहरू (Key Takeaways)
  • लक्जेम्बर्गमा नोभेम्बर २९ र ३० मा नेपाल–युरोप आर्थिक साझेदारीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुँदै।
  • व्यापार, लगानी, डिजिटल नवप्रवर्तन, युवा उद्यमशीलता र पर्यटनमा सहकार्य विस्तार सम्मेलनको मुख्य लक्ष्य।
  • सम्मेलनका निष्कर्ष समेटेर नेपाल–युरोप व्यापार तथा लगानी सहकार्यका लागि नीतिगत दस्तावेज तयार गरिने।

नेपाल र युरोपबीच व्यापार, प्रविधि, लगानी तथा पर्यटनका क्षेत्रमा नयाँ अवसर पहिचान गर्दै आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यले लक्जेम्बर्गमा ‘नेपाल–युरोप टेक, ट्रेड एन्ड इन्भेस्टमेन्ट थिम्ड सेमिनार २०२६’ आयोजना हुने भएको छ। आगामी नोभेम्बर २९ र ३० मा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

बेल्जियम, नेदरल्यान्ड्स, लक्जेम्बर्ग तथा युरोपेली संघका लागि नेपाली राजदूतावासको संरक्षणमा नेपाली व्यवसायी संघ युरोप (नेबा युरोप) ले आयोजना गर्न लागेको सम्मेलन लक्जेम्बरस्थित डबलट्री बाई हिल्टन होटलमा दुई दिनसम्म सञ्चालन हुनेछ।

सम्मेलनमा प्रतिनिधिसभा सदस्य मनिष झा, नेपाली राजदूत सेवा लम्साल, युरोपेली लगानी बैंकका प्रतिनिधि एडभार्डस बुम्स्टाइनस तथा युरोपेली संघको बाह्य कार्य सेवाका प्रतिनिधिसहित नेपाल र युरोपका व्यवसायी, लगानीकर्ता तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ। नेपालका लागि युरोपेली संघका राजदूत चार्ल्स ह्वाइटलीले भर्चुअल माध्यमबाट सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।

‘नेपाल–युरोप साझेदारीका लागि सरकार, व्यवसाय र प्राज्ञिक क्षेत्रको सहकार्य’ भन्ने मूल अवधारणामा आधारित सम्मेलनमा व्यापार तथा लगानी, सूचना प्रविधि र डिजिटल नवप्रवर्तन, युवा उद्यमशीलता, पर्यटन प्रवर्द्धन तथा व्यावसायिक सहकार्यका विषयमा छलफल हुनेछ। युवा उद्यमशीलता तथा आईटी नवप्रवर्तनसम्बन्धी सत्रको नेतृत्व चिरन खवासले गर्नेछन्।

सम्मेलनले नेपाली उत्पादनलाई युरोपेली बजारमा विस्तार गर्ने सम्भावना, नेपालमा युरोपेली लगानी भित्र्याउने वातावरण, प्रविधि हस्तान्तरण तथा डिजिटल क्षेत्रमा संयुक्त अवसर सिर्जना गर्ने विषयमा विशेष जोड दिने अपेक्षा गरिएको छ। साथै, नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने र नेपाल तथा युरोपका व्यवसायीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको छ।

सम्मेलनमा विभिन्न संस्थाले सहकार्य गरेका छन्। नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डल ज्ञान साझेदार, जेनेस सोलुसन प्रविधि साझेदार, निर्यात उद्यमी महासंघ नेपाल महासंघ साझेदार, युरोपियन इकोनोमिक चेम्बर नेपाल आर्थिक साझेदार तथा काठमाडौं–नेपालको स्वाद कार्यक्रम साझेदारका रूपमा सहभागी छन्।

नेबा युरोपका अध्यक्ष याम निरौलाले सम्मेलनलाई औपचारिक भेटघाट र छलफलमा मात्र सीमित नराखी व्यावहारिक व्यावसायिक सहकार्य तथा दीर्घकालीन साझेदारीको आधार बनाउने लक्ष्य रहेको बताए। उनका अनुसार सम्मेलनले नेपाल र युरोपबीचको आर्थिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्नेछ।

कार्यक्रम संयोजक हरि खत्रीले अतिथि व्यवस्थापनदेखि विषयगत सत्रसम्मका तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। सम्मेलनमा उठेका विषय तथा प्राप्त सुझावलाई आगामी सहकार्यमा उपयोग गर्ने गरी आवश्यक तयारी भइरहेको उनले बताए।

संघका सचिव मदन दवाडीका अनुसार सम्मेलनका छलफल, निष्कर्ष तथा नीतिगत सुझाव समेटेर ‘नेपाल–युरोप सेमिनार रिजोलुसन एन्ड पोलिसी रेफरेन्स डकुमेन्ट २०२६’ तयार गरिनेछ। उक्त दस्तावेजले आगामी दिनमा नेपाल र युरोपबीच व्यापार, लगानी तथा संस्थागत सहकार्यलाई थप प्रभावकारी बनाउन मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।

लेखकको परिचय
विशाल पौडेल

विशाल पौडेल

पूर्वाधार तथा स्थलगत खोज संवाददाता

स्थलगत पूर्वाधार, विपद् व्यवस्थापन र राष्ट्रिय गौरवका सडक आयोजना सम्बन्धी विशेष खोजमूलक समाचारदाता।

यस लेखकका अन्य लेखहरू

International बाट थप समाचार

सबै हेर्नुहोस्

पाठक प्रतिक्रिया

०
सम्पादकीय परीक्षणपछि प्रकाशित

आफ्नो विचार राख्नुहोस्

घृणास्पद र अमर्यादित अभिव्यक्ति निषेधित छ0 / 1000
प्रतिक्रियाहरू लोड हुँदै...
नेपाल–युरोप आर्थिक साझेदारीका लागि लक्जेम्बर्गमा अन्तर्राष्ट्रिय सम्मेलन | HamroBuzz