त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग (CDJMC) ले डिजिटल कन्टेन्ट क्रिएसनमा एकवर्षे स्नातकोत्तर डिप्लोमा कार्यक्रम सुरु गरेको छ। डिजिटल सञ्चार तथा कन्टेन्ट उत्पादन क्षेत्रमा करियर बनाउन इच्छुक व्यक्तिहरूलाई व्यावसायिक सीप विकास गर्ने अवसर प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो।
कार्यक्रममा जुनसुकै शैक्षिक संकायबाट स्नातक तह उत्तीर्ण गरेका विद्यार्थी तथा इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन्। तर, आवेदन दिनका लागि स्नातक तहको अध्ययनका क्रममा कम्तीमा एउटा अंग्रेजी विषय अध्ययन गरेको हुनुपर्नेछ।
कार्यक्रमको कुल शुल्क ८५ हजार रुपैयाँ तोकिएको छ भने प्रवेश परीक्षाका लागि थप २ हजार ५०० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।
कामकाजी व्यक्ति तथा व्यस्त समयतालिका भएका विद्यार्थीहरूलाई समेत सहज हुने गरी कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ। यसका लागि बिहान वा साँझको लचिलो कक्षा समय उपलब्ध गराइने अपेक्षा गरिएको छ।
डिजिटल कन्टेन्ट उत्पादन, सामाजिक सञ्जाल, अनलाइन सञ्चार तथा बढ्दो डिजिटल क्रिएटर अर्थतन्त्रमा रुचि राख्ने व्यक्तिहरूलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो। यसले डिजिटल मिडिया क्षेत्रमा आवश्यक सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप हासिल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।





