नारायणगढ, चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि सडक दैनिक पाँच घण्टा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले मंसिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो।
पहिरो रोकथामका क्रममा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै उक्त समयमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिनुभयो।
तुइनखोला क्षेत्रमा पहिरो खस्ने क्रम नरोकिएपछि सडक डिभिजन कार्यालय भरतपुरले दीर्घकालीन समाधानका लागि विशेष प्रविधि अपनाएर काम अघि बढाउन लागेको हो। गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा समेत पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि रोकथामका उपाय अपनाउन लागिएको हो।
पहिरो प्रभावित क्षेत्रमा ठूला ढुङ्गा हटाउने, भिरको स्लोप व्यवस्थापन गर्ने तथा किला रड ठोकेर पहिरो प्रभावित क्षेत्रलाई बलियो बनाउने ‘नेलिङ’ प्रविधि प्रयोग गरिनेछ। त्यसैगरी, भिरबाट रसाएर आउने पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ अर्थात् तेर्सो निकास प्रणाली र बायोइन्जिनियरिङ प्रविधि पनि अपनाइने सडक डिभिजन कार्यालयले जनाएको छ।
स्लोपको प्रकृतिअनुसार द्विआयामिक तथा त्रिआयामिक ढाँचामा जैविक प्रविधिका उपाय अवलम्बन गरिने र पहिरो रोकथामका लागि मुख्य रूपमा नेलिङ प्रविधि प्रयोग गरिने सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माले बताउनुभयो।
गत असोजदेखि रोकिएको तुइनखोला पहिरो रोकथामको काम पुनः सुरु गर्न लागिएको हो। पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा पनि तुइनखोलामा काम गरिएको थियो। तर, कृष्णभीरमा सडक सञ्चालनमा आएपछि तुइनखोलामा बाटो सहज बनाउन काम रोकिएको उहाँले जानकारी दिनुभयो।
प्राविधिक मूल्याङ्कनअनुसार तुइनखोलामा पहिरो रोकथामको काम गर्न कम्तीमा १५ दिन लाग्ने देखिएको छ। यद्यपि, सडक कति समय बन्द गरेर काम गर्ने भन्ने निर्णय प्राविधिक मूल्याङ्कनपछि गरिने जनाइएको छ।
यसैबीच, पृथ्वी राजमार्गको मुग्लिङनजिक घोप्टेभीरमा भइरहेको काम भोलिसम्म सकिने र त्यसपछि पर्सिदेखि पृथ्वी राजमार्ग सञ्चालनमा आउने सडक डिभिजन कार्यालयले जनाएको छ।
काठमाडौँबाट मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने सञ्चालनमा रहने प्रशासनले स्पष्ट पारेको छ। सडक बन्दका कारण यात्रुलाई पर्न जाने असुविधाप्रति प्रशासनले क्षमायाचना गर्दै निर्धारित समयअनुसार यात्रा व्यवस्थापन गर्न अनुरोध गरेको छ।





