पोखरा । पोखराबाट चोरी भएको स्कुटरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८, खहरे निवासी २० वर्षीय सञ्जय परियार र पोखरा महानगरपालिका–८, जाल्पारोड निवासी २१ वर्षीय सजित भित्रकोटी रहेका छन्।
गत मंसिर ४ गते पोखरा महानगरपालिका–५, मालेपाटनबाट ग १४ प ५४८५ नम्बरको स्कुटर हराएको भन्दै सोम माया राईले प्रहरीमा खोजतलासका लागि निवेदन दिएकी थिइन्।
निवेदनका आधारमा प्रहरीले स्कुटरको खोजी गर्ने क्रममा पोखरा महानगरपालिका–९, तुल्सीघाटस्थित सृष्टिदृष्टि वर्कसपमा फेला पारेको हो। उक्त स्कुटर वर्कशपमा स्वरूप परिवर्तन (मोडिफाई) गर्दै गरेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।
स्कुटरसँगै चोरीमा संलग्न रहेको आरोपमा परियार र भित्रकोटीलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाम पठाइएको कास्की प्रहरीले जनाएको छ।



