अमेरिकाले आफ्नो भिसा बन्ड कार्यक्रम स्थायी बनाएको छ। यस नीतिअन्तर्गत नेपालसहित ५० तोकिएका देशका केही व्यावसायिक तथा पर्यटक भिसा आवेदकले आर्थिक धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ। यो स्थायी कार्यक्रम सन् २०२६ अगस्ट ३ देखि लागू भएको हो।
नयाँ व्यवस्थाअनुसार B1 व्यावसायिक भिसा र B2 पर्यटक भिसाका लागि आवेदन दिने केही व्यक्तिले १० हजार, १५ हजार वा २० हजार अमेरिकी डलरसम्मको धरौटी राख्नुपर्ने हुन सक्छ। धरौटीको रकम आवेदकको व्यक्तिगत अवस्था र मूल्याङ्कनका आधारमा अमेरिकी कन्सुलर अधिकारीले निर्धारण गर्नेछन्।
तोकिएका देशका सबै आवेदकले अनिवार्य रूपमा धरौटी राख्नुपर्ने भने होइन। कन्सुलर अधिकारीले व्यक्तिगत मूल्याङ्कनपछि आवश्यक ठानेका आवेदकलाई मात्र धरौटीको सर्त लागू हुनेछ। त्यसैले आधिकारिक निर्देशन प्राप्त नगरी आवेदकले धरौटी बुझाउनु हुँदैन।
भिसा बन्डको उद्देश्य यात्रुहरूले भिसाका सर्त पालना गर्ने र अनुमति प्राप्त अवधिभित्र अमेरिका छाड्ने सुनिश्चित गर्नु हो। तोकिएका सर्त पूरा गरेमा धरौटी फिर्ता हुन सक्छ। तर, भिसा अवधि नाघेर बस्ने वा भिसाका नियम उल्लङ्घन गर्ने व्यक्तिले धरौटी रकम गुमाउनुपर्ने जोखिम हुन्छ।





