तिहार पर्वपछि लमजुङका ग्रामीण पर्यटकीय गन्तव्यहरूमा पर्यटकको चहलपहल पुनः बढ्न थालेको छ। जिल्लाका घलेगाउँ, काउलेपानी, राइनासकोट र हर्सिङडाँडालगायतका पर्यटकीय गाउँहरूमा आन्तरिक पर्यटकको आगमन बढेसँगै स्थानीय पर्यटन व्यवसायमा उत्साह थपिएको छ।
स्थानीय होमस्टे सञ्चालकहरूका अनुसार घलेगाउँमा दैनिक १०० देखि १५० जनासम्म पर्यटक पुग्ने गरेका छन्। त्यस्तै, काउलेपानीमा दैनिक ६० देखि ७० जना र राइनासकोटमा ३० देखि ४० जनासम्म पर्यटक आउने गरेका छन्। पर्यटकको बढ्दो आगमनले स्थानीय होमस्टे, होटल, रेस्टुरेन्ट तथा साना व्यवसायलाई राहत दिएको छ।
यी पर्यटकीय गन्तव्यहरू गुरुङ समुदायको मौलिक संस्कृति, परम्परागत नृत्य, मनोरम हिमाली दृश्य, ऐतिहासिक स्थल र ग्रामीण जीवनशैलीका कारण पर्यटकको आकर्षणमा परेका छन्। समुद्री सतहबाट करिब २ हजार १०० मिटर उचाइमा रहेको घलेगाउँबाट अन्नपूर्ण, मनास्लु र माछापुच्छ्रे हिमशृङ्खलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।
ग्रामीण पर्यटनप्रति बढ्दो आकर्षणले स्थानीय समुदायका लागि रोजगारी र आम्दानीका नयाँ अवसर सिर्जना गरेको छ। पर्यटकको आगमनसँगै स्थानीय उत्पादन, संस्कृति र परम्पराको प्रवर्द्धनमा समेत सहयोग पुगेको छ।
ग्रामीण पर्यटकीय क्षेत्रसम्म सडक पहुँच सुधार, आवश्यक पूर्वाधार विकास र प्रभावकारी प्रचारप्रसार गर्न सके लमजुङको पर्यटन क्षेत्रलाई थप विस्तार गर्न सकिने तथा स्थानीय अर्थतन्त्रमा अझ सकारात्मक प्रभाव पार्न सकिने अपेक्षा गरिएको छ।



